२०८२ भाद्र २५ गते बुधवार
गत जेठ २१ गते कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने २१ जना परीक्षार्थीलाई कारबाही गरिएको छ।
आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६/०७८९७९ इञ्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सबइञ्जिनियर पदको लागि गत जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो।
उक्त परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका–१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन्।
आयोगद्वारा जारी विज्ञप्ति अनुसार अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेका हुन्। शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको छ।
अन्य २० जनालाई एक वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ। आयोगले प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ‘ख’ बमोजिम उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij