Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गोरखा नगरपालिकाका कर्मचारीको बढुवा प्रदेश लोक सेवा आयोगद्वारा बदर

गोरखा नगरपालिकाका कर्मचारीको बढुवा प्रदेश लोक सेवा आयोगद्वारा बदर


  • 2.7K
    Shares

    गोरखा नगरपालिकाका कर्मचारीको बढुवा प्रदेश लोक सेवा आयोगद्वारा बदर
    images

    गोरखा नगरपालिकाले नियम विपरीत गरेको कर्मचारी बढुवा गण्डकी प्रदेश लोक सेवा आयोगले बदर गरिदिएको छ । आफूखुसी ऐन बनाएर कर्मचारी बढुवा गरेको भन्दै प्रदेश लोक सेवा आयोगले त्यसलाई बदर गरिदिएको हो ।

    गत जेठ २६ गते नगरपालिका कार्यालयमा पत्र पठाएर आयोगले नगरपालिकाले गरेको कर्मचारी बढुवाको काम कारबाही बदर भएको जानकारी गराएको हो ।

    आयोगको परामर्श बिना कर्मचारीको सेवा, सर्त सम्बन्धी ऐन जारी गरी आफूखुसी कर्मचारी बढुवा गरेकाले प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ४३ अनुसार कर्मचारी बढुवा बदर गरिएको आयोगका सचिव विनोदबहादुर कुँवरले बताए ।

    गोरखा नगरपालिकाले कर्मचारी सेवा व्यवस्थापन ऐन २०७८ अनुसार नवौँ नगर सभाबाट निर्णय गरिएको भन्दै केही समयअघि १६ जना कर्मचारी बढुवा गरेको थियो ।

    नगरपालिकाले नायव सुब्बा राम कुमार श्रेष्ठ, शोभा दवाडी प्रधान, विमला वाग्ले र किरण कट्टेललाई अधिकृत छैटौँमा बढुवा गरेको थियो ।

    त्यस्तै सुन्दर श्रेष्ठ, सरस्वती कमर, अनिलभक्त तिवारी, रामबहादुर कोइराला, प्रकाशचन्द्र ढकाल र सरस्वती अधिकारीलाई खरिदारबाट नायव सुब्बामा बढुवा गरेको थियो ।

    अधिकृत छैटौँ पदमा रहेका इन्जिनियर प्रकाश ढकाललाई अधिकृत सातौँ, लेखापाल नारायण मरहट्टालाई लेखा अधिकृत, सब–इन्जिनियर राजु श्रेष्ठलाई इन्जिनियर, सह–लेखापाल सावित्री अधिकारीलाई लेखापाल र कार्यालय सहयोगी शोभा गुरुङलाई खरिदारमा बढुवा गरिएको थियो । बढुवा बदर भएसँगै ती कर्मचारीहरुको पद पहिलैकै यथावत भएको छ ।

    कर्मचारीले तलब लिन मानेनन्

    आयोगले बढुवा बदर गरेपछि बढुवाको सुचीमा परेका कर्मचारीले तलब लिन मानेका छैनन् । बढुवा भएको पदको तलब स्केल नपाउने भएपछि उनीहरुले असार महिनाको तलब लिन आनाकानी गरेका हुन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालका अनुसार कर्मचारीहरुले बढुवा भएको पदको तलब स्केल चाहिने बताएका छन् ।

    ‘आयोगले बढुवा बदर गरेपछि उहाँहरु पहिलैकै पदमा झर्नुभयो, त्यही स्केल अनुसार तलब खुवाउनुपर्ने भएपछि हामीले तलब लिनुहुन्छ कि के गर्नुहुन्छ भनेर सोध्यौँ,’ उनले भने, ‘उहाँहरुले अहिले लिन्नौँ भन्नुभएको छ ।’

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - १२:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij