२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले रोकिएको तलब पाएका छन् ।
महानगरले गत वर्षको साउन महिनादेखि रोकिएको तलब दिएकाे हाे । इसीडी शिक्षक चन्द्रिका श्रेष्ठले स्थानीय तहले दिनुपर्ने सात हजार रूपैयाँ आफूहरूले पाएको जानकारी दिइन् ।
‘हामीले स्थानीय तहले दिनुपर्ने तलब रू ७ हजार पाएका छौं । काठमाडौं महानगरले एकमुष्ट रूपमा तलब दिएको छ,’ उनले भनिन् ।
उनले महानगरले विद्यालयअनुसार इसीडी शिक्षकलाई फरक–फरक स्केललमा तलब पठाएको थाहा भएको जनाइन् ।
यही साउन १ गतेदेखि भने इसीडी शिक्षकले केन्द्र सरकारबाट दश हजार र स्थानीय तहबाट सात हजार गरी मासिक १७ हजार रूपैयाँ पाउनेछन् ।
तलब माग गर्दै इसीडी शिक्षकले मेयर बालेन साह, उपमेयर सुनिता डंगोल र वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए । महानगरकै कतिपय इसीडी शिक्षकले भने तलब नपाएको गुनासो गरेका छन् । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij