२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौं । मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि नै कुटपिट गरेको आइसियूमा खटिएका अर्का एक चिकित्सकले जानकारी दिए।
अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेको ती चिकित्सकले बताए।
"हामीले इन्फ्लुएन्जा "एचवानएनवान" परीक्षण गर्नलाई टेकु पठाएका थियौं। परीक्षण गर्दा नेगेटिभ देखियो तर कोरोना पोजेटिभ देखियो भनेपछि हामीले बिरामीलाई कोभिड वार्डमा सार्यौं," उनले भने, "तर आज मृत्यु भएपछि उहाँका आफन्तले कोरोनाले मृत्यु भएको हैन भन्दै डाक्टरलाई नै लात हान्नुभयो।"
उनले चिकित्सकहरू यस्तो महामारीमा खटिँदा पनि कुटाइ खानुपर्दा यसले मनोबल गिर्ने बताए।
"रातदिन भनेर खटियो तर यसरी कुटाइ खाइन्छ भने त कसरी काम गर्नेरु यस्तो घटना दुई तीन पटक भइसक्यो। यहीँ ताल हो भने काम गर्न सकिँदैन," उनले भने। अहिले मृतकको शव अस्पतालमै राखिएको छ।
गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो। बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij