२०८२ भाद्र ८ गते आइतवार
ज्येष्ठ १४ गते शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सुसम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा .डा. जगतप्रसाद उपाध्यायबाट अग्रज साहित्यकार श्री पुरुषोत्तम सिग्देललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि प्रेक्षितले प्रतिष्ठानको चालिसौं शृङ्खलामा नेपालको सुदूरपूर्वी जिल्ला.ताप्लेजुङमा जन्मेर संस्कृत अध्ययन गरी उच्चतम शिक्षा हासिल गर्नु भएका संस्कृत र नेपाली भाषालाई बराबर अघि बढाइरहनु भएका महान् कवि पुरुषोत्तम सिग्देललाई सम्मान गरेकोमा सम्मानित प्रतिभालाई बधाई र उहाँजस्तो व्यक्तिलाई खोजी गर्ने लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष र प्रतिष्ठानलाई बधाई ज्ञापन गर्नुभयो । लीलाध्वज थापाको उपन्यास पढेर आफू प्रभावित भएको उल्लेख गर्दै सम्मानित व्यक्तित्व साहित्यकार पुरुषोत्तम सिग्देलले विशिष्ट साहित्यकारको नाममा स्थापना भएको प्रतिष्ठानबाट सम्मानित हुन पाएकोमा गर्व लागेको उल्लेख गर्नुभयो ।
मन्तव्यकै सिलसिलामा उहाँले अध्यक्ष विजयध्वज थापा लगायत प्रतिष्ठानप्रति आभार व्यक्त गर्नु भयो । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानको साहित्यिक पत्रकार संघका उपाध्यक्ष तथा प्रसिध्द नियात्राकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार श्री सिग्देलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको प्रशंसा गर्नुहुँदै उहाँले उपन्यासकार लीलाध्वजको ओजस्वी व्यक्तित्वमाथि समेत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रा डा जगतप्रसाद उपाध्याय,कवि पुरुषोत्तम सिग्देल,प्रज्ञा खनाल,मुकुन्द न्यौपाने, रामप्रसाद पन्त, कुमार नेपाल, सुरेश वैद्य, रत्न विरही घिमिरे, सुशील आचार्य, महेशप्रसाद रिजाल, बिन्दु अधिकारी ढकाल, सुन्दर खड्का, विजयध्वज थापा, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय,उत्तम विचार , विनिता अर्याल, श्रवण कार्की , धरणीधर गुरागाई, मदनप्रसाद नेपाल, शम्भुप्रसाद गजुरेल, गङ्गा आचार्य, एम• पी• पाण्डे, गङ्गा आचार्य सेढाई लगायतका स्रष्टाले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमलाई उत्तम विचारले सहजीकरण गर्नुभएको थियो भने अध्यक्ष थापाले स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्था समेत सम्मानित भएको धारणा राख्दै विसर्जन गर्नुभयो । कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा सम्पन्न भएको थियो । कार्यक्रमको शुरुमा उक्त स्कुलका संस्थापक नेपाल सरकारका पूर्व सचिव देवराज रेग्मी तथा उहाँका सुपुत्र प्रज्ञाराज रेग्मी कोभिडको कारणबाट देहवसान हुनु भएकोले १ मिनेट मौनधारणा गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij