२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो।
मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल अमेरिकी अर्थतन्त्र वलियो बन्दै गएको र पछिल्लो समय रुस-युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेको बताउँछन् । उनका अनुसार विश्वव्यापाी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।
अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन्। डलरको भाउ बढेलगत्तै विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन्।
नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरु बताउँछन्। तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ। विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ।
अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ। कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्। उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij