Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ, एउटै परिवारमा मिल्यो यति ठूलो सफलता!

जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ, एउटै परिवारमा मिल्यो यति ठूलो सफलता!


  • 4.7K
    Shares

    जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ, एउटै परिवारमा मिल्यो यति ठूलो सफलता!
    images

    यो दुनियाँ नै जित्नेहरूको हो, जित्नेहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ, इतिहासको पानामा ? कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई ।

    अक्सर हामी एक/दुईवटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो । तर, जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग ।

    धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर, यो अवसर सबैका लागि कहाँ जुर्छ र ? निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन । मात्र हुनुपर्छ दृढ इच्छाशक्ति र संकल्प हुनुपर्छ मनमा । असम्भव केही छैन दुनियाँमा । हालै मात्र एकाघरका दाजुभाइ र दिदीबहिनीले निजामती सेवामा रेकर्ड ब्रेक गरेका छन् । यसरी नयाँ रकेर्ड कायम गराउन सफल दाजु भाइ र दिदी–बहिनी हुन् क्रमशः भोजपुरका दिनेश–दीपेश खनाल र कञ्चनपुरका पार्वती–बसन्ती भट्टले । यिनले एकै पटक शाखा अधिकृतमा नाम निकाले र एकै पटक पदस्थापन भए पनि । सर्वाेच्च अदालतका न्यायधीशहरू आनन्दमोहन भट्टराई, सपना मल्ल प्रधान र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले लोकसेवाले लामो समयदेखि स्थगन गरिराखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै १६ माघमा नतिजा सार्वजनिक भएको थियो । ४८५ जना शाखा अधिकृतमा उत्तीर्ण हुँदा स्याङ्जाबाट मात्र ३४ जना थिए भने कञ्चनपुर जिल्लाबाट १० र भोजपुर जिल्लाबाट ८ जना शाखा अधिकृत बन्न सफल भए ।

    भोजपुरको एउटा दुर्गम गाउँ, हालको अरुण गाउँपालिका–२ मा जन्मिएका हुन् खनाल बन्धु । पिता गिरिराज र माता तुलसाको कोखबाट । बुवा पेशाले शिक्षक, पिताकै पदचाप पछ्याउँदै सरकारी सेवामा प्रवेश गरे । निकै कष्टसाथ अध्ययन भयो । एसएलसीसम्मको शिक्षा गाउँकै सरकारी स्कूलबाट भएको हो । मान्छेहरू सरकारी विद्यालयलाई हेलाँ गर्छन्, तर त्यही विद्यालयबाट पढेका दुई भाइ र दुई बहिनी अहिले सबै सरकारी सेवामै छन् । सपरिवार सरकारी सेवामा लाग्नुको पछाडि आमाको ठूलो प्रेरणा छ ।

    प्लस टुपछि गाउँकै विद्यालयमा केही समय पढाए र ०७२ सालमा लोकसेवा भिडेका हुन् । भन्छन्, जीवन नियममा होइन संयोगमा हुन्छ । त्यतिखेर उनले काठमाडौंबाट लोकसेवा भिडे । जेठी बहिनीले धनकुटाबाट । संयोग एकै पटक दिनेश र कल्पनाले सुब्बामा नाम निकाले । बहिनी कल्पना अहिले नेपाल ट्रष्टको कार्यालय पोखरामा छिन् । त्यसको वर्षदिनपछि भाइ दीपेश र कान्छी बहिनीले एकै पटक नाम निकालेका थिए र त्यही संयोग ५ वर्षपछि दोहारिएको छ । दिनेशले सामान्य प्रशासन समूह र भाइ दीपेश भने राजश्व समूहबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन् । दीपेश भने आठ नम्बर (टप टेनभित्र) परेका छन् ।

    अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल भएका हुन् यिनले । लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पनि पगाल्छ भनेझैं शाखा अधिकृत बन्न कम्ता पापड पेलेका हैनन् । जागिरे जीवनको सिलसिलामा अहिले लेखापाल हुन् दिनेश । शाखा अधिकृतमा बढुवा भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा राखेका कारण पदस्थापन हुन बाँकी छ । जागिरे जीवनको सिलसिलामा जिल्ला निर्वाचन कार्यालय दोलखामा दुई वर्ष बिताए । त्यहाँबाट मलेनिकामा केही समय रहे । भाइ दीपेश लोकसेवा भिडे ०७३ वैशाखमा १८ वर्षकै उमेरमा । समाजकल्याण परिषद्तिर चौथो तहको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल भए उनी । संयोग एकै समय बहिनीले शिक्षा सेवाअन्तर्गत शिक्षकमा नाम निकाल्न सफल भइन् । पढाइमा अब्बल र तीक्ष्ण बुद्धिको भाइले ७६ प्रतिशत अंक ल्याएर एसएलसी पार लगायो । प्लसटुमा विज्ञान विषय लिएर पढ्यो । बानेश्वरमा अवस्थित एम्बिसन एकेडेमीबाट डिस्टिंसन र स्नातक तहमा समेत राम्रै अंक ल्याएर पार लगाएको हो । भाइको पनि पदस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा भएको छ । पिता सरकारी शिक्षक हुन् ।

    कान्छी बहिनी करुणा निमावि स्थायी शिक्षक छिन् । उनले पनि मध्यमाञ्चलबाट खुलातर्फ नाम निकालेकी हुन् । हाल मकवानपुरको सिस्नेरीमा पढाउँछिन् । ६ वर्षअघि दाजु बहिनी एकै साथ सुब्बा बनेका हुन् । अहिले दाजु भाइ एकै साथ शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् । एकाघरका सरकारी सेवामा लागेकाहरू त धेरै भेटिन्छन् । जस्तो अहिले लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाईको सातै जना दाजुभाइ दिदी बहिनी सरकारी जागिरे हुन् । निजामती सेवामा प्रवेश गर्ने हर कोहीको लक्ष्य हुन्छ, सो सेवाको उच्च ओहोदा अर्थात् सचिवसम्म बन्ने तर सबैले यो लक्ष्य भेट्टाउँदैनन् । अहिले उनीहरूका दाजु र बहिनी नै एकसाथ नेपाल सरकारका सचिवको रूपमा कार्यरत छन् ।

    तर एकै पटक दाजुभाइ वा दिदीबहिनीले अधिकृतमा नाम निकालेको घटनाचाहिँ पहिलो हुन सक्छ । भन्छन् नि जीवन नियमले कम र संयोगले बढी चल्छ । सरकारी सिन्दुर पहिरिने धेरैको लक्ष्य र चाहना हुन्छ तर जीवनका सबै चाहना र उद्देश्य कहाँ पूरा हुन्छन् र ? बोकिएका लक्ष्य र सपना पूरा गर्नका लागि त चाहिन्छ कठोर मिहिनेत, दृढ आत्मसंकल्प र निरन्तरको सत्प्रयास । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका पार्वती र बसन्ती भट्टसमेत एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएका छन् । उनीहरूले पनि पहिलो प्रयासमै नाम निकाल्न सफल भएर एकसाथ नियुक्ति र पदस्थापनको पत्र पाएका छन् ।

    जेठी दिदी जयन्ती माध्यमिक तहको शिक्षक, माइली दिदी बिस्ना शिक्षक सेवा आयोग तयारी गर्दै । दुई दाजुमध्ये जेठो जीवन अधिकारकर्मी र पुष्प अमेरिकामा । यसअघि नाम निकालेर सुब्बाका रूपमा कार्यरत रहेका उनीहरू समायोजन एकै ठाउँ बेलौरी नगरपालिकाको कार्यालयमा भएको र त्यहाँ सँगसँगै शाखा अधिकृतको तयारी थालेर सफलता पनि पाएको सुनिएको छ । भन्छन् नि जीवनमा एक छाक खाना दिनेभन्दा प्रिय हुन्छ बाटो देखाइदिने मान्छे । यो तिनको जीवनको एउटा सानो उपलब्धि मात्र हो । यहाँसम्मको बाटो तय गर्दा र यो गन्तव्यसम्म पुग्नका लागि हौसला दिने, साथ दिने सबै–सबैप्रति कृतज्ञता प्रकट गरेका छन् दिनेश खनालले । (ईकर्मचारी)

    प्रकाशित मिति :माघ २७ २०७८ बिहिवार - १४:२७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij