२०८२ भाद्र ८ गते आइतवार
मदन पौडेलकृत आत्मकथा 'मृत्युले मुसारेको मान्छे'को यही पुस २३ गते शुक्रबार राजधानीमा एक भव्य कार्यक्रमबीच लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक, मार्क्सवादी चिन्तक तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले 'सिर्जनशील मान्छेलाई कालले पनि बाटो छेक्न सक्दैन भन्ने सजीव दृष्टान्त हुन् मदन पौडेल' भन्दै उनी जिउँदो इतिहास भएको दाबी गरे। हरेक मान्छेमा पृथक् खाले मौलिक चेतना हुने जिकिर गर्दै पौडेल जीवित मान्छेका निम्ति प्रेरणाको अजस्र स्रोत भएको उनको कथन थियो ।
बाल वाङ्मयका अध्यक्ष,अध्येता तथा समालोचक प्रमोद प्रधानले पौडेलको आत्मकथाको सबैभन्दा बलशाली पाटो भनेकै इमान्दारी भएको जिकिर गरे । बीपीको आत्मवृतान्त विनोद चौधरी तथा रूक्माङ्गत कटुवालसम्मका आत्मकथामा इमान्दारीबारे उनले संशय व्यक्त गरे । यो कृति समकालीन राजनीतिको निर्मम र यथार्थ कथा हो भन्ने उनको अभिमत थियो। प्रधानले एक फरक प्रसङ्गमा राजनीतिबाट पौडेलको मात्र नभई आम भुइँमान्छेको मोहभङ्ग भएको र कृति उतिबेलाको आम कम्युनिस्ट कार्यकर्ताको समग्र कथा भएको ठोकुवा गरे । किन कोमल वलीहरू सत्ताको वरपर गणेशफन्कोमा छन् र मदन पौडेलहरूले आफैँले वर्षौं पालेका प्रधानमन्त्रीलाई भेट गर्न समेत पाउँदैनन् भन्ने प्रश्न गर्दै पवित्र राजनीति र जीवन सङ्घर्षको दस्तावेज नै 'मृत्युले मुसारेको मान्छे' हो भन्ने उनको कथन थियो।
नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले मदनले आर्जन गरेको निष्ठा सारा इमानको जीवन गुजार्नेहरूका निम्ति अमूल्य सम्पत्ति हो भन्दै आजको सत्तादेखि सत्तासम्म मात्र देख्ने घिनलाग्दो राजनीतिलाई उहाँको आत्मकथाले भतभती पोल्नुपर्छ भन्ने उनको अभिमत थियो । पत्रकार राजकुमार बानियाँले पुस्तकलाई आफूले कृतिलाई कोरीबाटी गर्न सघाए पनि सारा कथा पौडेलकै लेखनमा भएको र उत्कृष्ट अनुभवको इमानदार अभिव्यक्ति भएको समेत बताए ।
आत्मकथाकार मदन पौडेलले आफ्नो जीवनमा कोही स्थायी शत्रु वा स्थायी मित्र नभएको जिकिर गर्दै टपरी टक्टक्याउने पारिवारिक पृष्ठभूमिबाट दीक्षित भए तापनि राजनीति बुझेपछि भने मार्क्सवादी वैज्ञानिक चेतनामा आफूलाई समाहित गरेको बताए। जनै खोले पागल भइन्छ भन्ने कुरालाई हावादारी पुष्टि हुने गरी चुनौती दिएको दाबी गर्दै एकजना गाउँकै समवयी दलितलाई गायत्रीमन्त्र सुनाएको प्रसङ्ग पनि उनले कोट्याए । लहैलहैमा कम्युनिस्ट बने पनि नेतृत्वमा पुगिसकेपछि आफूमा परिवर्तनको चेत भरपुर भएको उनको तर्क थियो ।
बाल साहित्यकार मञ्जु पौडेलले आमन्त्रितहरूलाई शब्दगुच्छाले स्वागत गरेको सो कार्यक्रममा मदनकी जीवनसङ्गिनी दुर्गा पौडेल र वसन्तकुमार लोहनीले पनि सङ्क्षिप्त मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण लोकप्रिय बाल साहित्यकार तथा विवेक सिर्जनशील प्रकाशनका विजयराज आचार्यले गरेका थिए । कार्यक्रममा विशिष्ट साहित्यकार,मूर्धन्य पत्रकार तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति थियो । पुस्तकलाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij