२०८२ भाद्र १ गते आइतवार
नेपाल टेलिकमका मोबाइल नम्बर नयाँ अंकबाट सुरू भएको छ। टेलिकमले आफ्नो जिएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन) मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको हो।
पहिले यो नम्बर '९८' अंकबाट सुरू भइरहेको थियो। अहिले सिडिएमएको जस्तै '९७' बाट सुरू भएको टेलिकमका प्रवक्ता राजीव जोशीले जानकारी दिए। उनका अनुसार अहिले '९७६' को नम्बर श्रृंखला प्रयोग गर्न थालिएको छ।
'अंक योजनाका आधारमा ९७४, ९७५ र ९७६ मध्ये ९७६ वितरण गरिरहेका छौं,' जोशीले भने। पहिले जिएसएमका लागि ९८४, ९८५, ९८६ गरी तीन श्रृंखलामा नम्बर वितरण भइरहेको थियो। यी श्रृंखलाका नम्बर बाँकी रहेका र वितरणमा नगइसकेको भए ती पनि वितरण हुने उनले बताए।
'अब ९७६ उपलब्ध भएको छ तर ९८ का पूरै सकिएर पठाएको भन्न मिल्दैन। स्टकमा रहेका ९८ का केही खाली नम्बर छन् भने पाइन्छ। त्योसहित ९७६ वितरणमा जान्छ।' नेपाल दूरसञ्चार प्राधिकरणले दिएको अनुमतिअनुसार जिएसएममा ९७ श्रृंखला प्रयोगमा आउन थालेको कम्पनीको भनाइ छ।
गत साउनदेखि सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिकमले सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ। प्रवक्ता जोशीकाअनुसार हाल सिडिएमएका ग्राहक करिब चार लाख ३८ हजार छन्। यी सबैलाई जिएसएममा लैजाने योजना टेलिकमको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij