२०८२ भाद्र ११ गते बुधवार
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-७ घर भइ भक्तपुरको ठिमीमा बस्दै आएका २१ वर्षीय अनिल थापा पक्राउ परेका छन । अनलाइन सेवा प्रयोग गरी अरुको खातामा रहेको रकम आफ्नो खातामा सार्ने अनिल थापालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
थापाले खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने ३८ वर्षीय प्रविन राज भण्डारीले प्रयोग गर्दै आएको सिमकार्डमा अनलाइन सेवा लगइन गरेर भण्डारीको खाताबाट २७ हजार पाँच सय रुपैयाँ निकालेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रबक्ता डीएसपी दिपक गिरीले जानकारी दिनुभएको छ ।
डीएसपी गिरीका अनुसार धनबहादुर श्रेष्ठको नाममा नेपाल टेलिकममा रजिष्टर भएको सिम कार्ड भण्डारीले प्रयोग गर्दै आएका थिए। थापाले नेपाल टेलिकम भक्तपुर दुधपाटी कार्यालयमा गई नक्कली कागजातहरु पेश गरी सोही नम्बरको सिम कार्ड लिई उक्त नम्बरमा रजिष्टर रहेको अनलाइन सेवा प्रयोग गरी खाताबाट पुस ९ मा २७ हजार पाँच सय रुपैयाँ आफ्नो खातामा पठाएर निकालेका हुन । अनलाइन सेवाको माध्यमबाट अर्काको खाताबाट रकम निकालेको उजुरीको आधारमा उनलाई भक्तपुरबाटै पक्राउ गरिएको गिरीले जानकारी दिनुभएको छ ।
प्रहरीले उनको कोठाबाट मोवाइल, ट्यापटप, विभिन्न बैँकका चेक, विभिन्न व्यक्तिका नागरिकता, शैक्षिक प्रमाणपत्र, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिर लगायतका सामान बरामद गरेको छ । उनलाई ठगी अभियोगमा कारबाही अघि वढाइएको गिरीले जानकारी दिनुभएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij