Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

काठमाडौँ महानगरपालिकाका सबै वडा भवन नेपाली परम्परागत शैलीमा निर्माण गर्दैछौँः मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका सबै वडा भवन नेपाली परम्परागत शैलीमा निर्माण गर्दैछौँः मेयर शाक्य


  • 6.9K
    Shares

    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–१६ कार्यालय भवन शिलान्यास गर्नुभएको छ । उक्त भवनको शिलान्यासपछि आज सम्वोधन गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिनुभयो । ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भन्नुभयो, ‘वडा–१६ को भवनको आज शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् । प्रमुख शाक्यले वडा–१६ को वडा भवन शिलान्यास घोषणा अनुसारकै कार्य भएको भन्दै यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिनुभयो । केही दिन अघि मात्रै मेयर शाक्यकै वडा–२१ को पनि वडा भवनको शिलान्यास गरिएको थियो । ‘केही कार्यालय भवनको निर्माण कार्य जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।’

    उहाँले केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले मुद्धा परेका कारण महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न नसकेको पनि गुनासो गर्नुभयो । सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण हुने पनि प्रमुख शाक्यले जानकारी दिनुभयो । ‘हामीले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने गरेको थियो,’ उहाँले भन्नुभयो, ‘अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ ।’ कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसादओझाले, शासन व्यवस्थापछिको पालिकाहरुको अवस्थाका विषयमा चर्चा गर्दै, अन्तरपालिका समन्वय र सहकार्यले काठमाडौँ महानगर र अमरगढी नगरबिच भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, सुविधा सम्पन्न वडाबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले स्थानीय शासन चलाउन जग बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । ‘हामीले कार्यालय भवन निर्माण गरेर महानगरको सेवा व्यवस्थापनको जग मजवुत बनाउने प्रयास गरेका हौँ,’ खड्गी श्रेष्ठले भन्नुभयो ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि सबै वडाका वडा भवन जति सक्दो छिटो सम्पन्न गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । वडाध्यक्ष मुकुन्द रिजालले वडा कार्यालय बनाउने महानगरको निर्णय हरेक सेवाग्राहीको सुविधासँग जोडिएको विषय भएको भन्दै वडा कार्यालय बन्नुलाई सबैले गौरवका रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यालयको डिजाइन गर्दा आजभन्दा १० वर्ष पछिको अवस्थालाई आकलन गरिएको काठमाडौँ महानगरपालिका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ‘हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ,’ इञ्जिनियर श्रेष्ठले भन्नुभयो, ‘बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।’ उहाँका अनुसार भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुनेछ भने भित्र आधुनिक सुविधा हुनेछन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सदस्यहरु र वडा सचिवको कक्ष रहनेछ । दोस्रो तलामा प्रशासनिक कक्ष तेस्रो तलामा प्रमुखको बैठक र कार्यालय कोठा हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष हुनेछ ।

    १ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ । महानगरपालिकाले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको छ । ‘वडा–३, ४ र २६ को पनि उद्घाटन भैसकेको छ,’ शाक्यले भन्नुभयो, ‘वडा– १४ को गृह प्रवेश भैसकेको छ ।’ काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार वडा–२, ६, १२, २०, २१, २२, २९ र ३१ निर्माण प्रक्रियामा छन्,’ श्रेष्ठले भन्नुभयो, ‘वडा–१२ को पनि प्रक्रिया अघि बढेका छ । अन्य वडा भवनको स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।’

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - ०८:३९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij