२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले कोभिड–१९ संक्रमण र निषेधाज्ञाका कारण रोकिएको कर्मचारी भर्ना सुरु गर्दैछ । कोभिड संक्रमण तत्काल रोकिने सम्भावना नदेखिएपछि आयोगले परीक्षा सुचारु गर्ने निर्णय गरेको हो ।
पर्सि १५ गतेदेखि सहसचिवका लागि लोक सेवा आयोगले परीक्षा लिँदैछ । लगत्तै खरिदार, नायव सुब्बा, शाखा अधिकृतका परीक्षा पनि हुँदैछन् ।
महामारीकै बीच आयोगले परीक्षा लिन लागेपछि धेरैलाई कोभिड संक्रमणको संशय र भय देखिन्छ । बाहिरी जिल्लाबाट आउनेहरूलाई कसरी काठमाडौं आएर परीक्षा दिने भन्ने चिन्ता पनि छ । परीक्षा दिन आवेदन दिएर परीक्षामा सहभागी हुन लागेका कतिपय संक्रमणबाट गुज्रिरहेका पनि छन् ।
तर, यसमा धेरै चिन्तित नहुन र दोधारमा नपर्न आयोगले भनेको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदी परीक्षा लिँदा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाइने बताउँछन् । ‘कोभिड–१९ को संक्रमण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डप्रति आयोग सचेत र संवेदनशील छ,’ उनी भन्छन्, ‘पर्याप्त सुरक्षा विधि र मापदण्डहरू अपनाएरै आयोगले परीक्षा लिन्छ ।’
परीक्षा लिनुपूर्व सहभागीहरूलाई फर्म भरेर स्वास्थ्य स्थिति घोषणा गर्न लगाउने र त्यसैका आधारमा वर्गीकरण गरेर परीक्षामा सामेल गराउने आयोगको तयारी छ । त्यसमा संक्रमित, संकास्पद देखिएका, लक्षण देखिएका, खोप लगाएका, खोप नलगाएका र सामान्यको छुट्टाछुट्टै समूह बनाएर व्यवस्थापन गर्ने आयोगको तयारी छ ।
एकै स्थानमा २५ जनाभन्दा बढी जमघट हुन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डलाई पनि पालना गरिने आयोगका प्रवक्ता सुवेदी बताउँछन् ।
१५ गते सहसचिवका लागि लिने परीक्षाको लगत्तै १६ देखि २१ गतेसम्म खरिदार, २३ गते शाखा अधिकृतको, ३० गते नायव सुब्बाको पनि परीक्षा लोकसेवाले लिँदैछ । यी सबै परीक्षाहरूमा स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिएर तयारी गर्न लागिएको आयोग बताउँछ ।
आगामी तीन महिनाभित्र कोभिड १९ संक्रमण र निषेधाज्ञाका कारण यसअघि रोकिएका सबै परीक्षा लिइसक्ने आयोगको तयारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij