२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरू गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।
गुञ्जमान तामाङको घरभित्र दराजमा राखेको उक्त धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्रयागन डान्सबारबाट पक्राउ गरेको थियो।
साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन जस्तो देखिने पहेलो धातुसहित काठमाडौं महानगरपालिका-६ कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेलो धातुसहित काठमाडौं महानगरपालिका-१ कमलादीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलरसमेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij